माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट

२०८३ कार्तिक २८

None

माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको
प्रेस नोट

२०८३ कार्तिक २८

तुर्कीएको अन्ताल्यामा मिति २०८३ कार्तिक २३ देखि मंसिर ४ गते (तदनुसार ९-२० नोभेम्बर २०२६) सम्म आयोजना भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (UNFCCC) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भई आज माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यू स्वदेश फर्किनुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार उक्त सम्मेलनमा सहभागी हुन उहाँ गत हप्ता अन्ताल्या प्रस्थान गर्नुभएको थियो। सम्मेलनको अन्तिम हप्तामा हुने निर्धारित बैठक तथा वार्ताहरूमा माननीय कृषि, वन तथा पर्यावरण मन्त्री श्री गिता चौधरीज्यूले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउनुहुनेछ।

१. यो सम्मेलन जलवायु परिवर्तनका वैश्विक चुनौती तथा असरहरू सामना गर्न साझा नीति, प्रतिबद्धता तथा कार्यदिशा तय गर्ने विश्वको प्रमुख बहुपक्षीय मञ्चमध्ये एक हो। यस सम्मेलनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने, सन् २०५० सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुक तथा समुदायको अनुकूलन क्षमता र उत्थानशीलता सुदृढ गर्ने विषयलाई उच्च प्राथमिकता दिएको छ। सन् १९९५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस सम्मेलनमा विश्वका राष्ट्र तथा सरकार प्रमुखहरू, वार्ताकार, वैज्ञानिक, निजी क्षेत्र, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिताले समावेशी, प्रभावकारी र सामूहिक विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।

२. नेपाली प्रतिनिधिमण्डलले विशेषतः UNFCCC प्रक्रियाअन्तर्गत हिमाल तथा जलवायु परिवर्तन, १.५ डिग्री सेल्सियसको लक्ष्य कायम राख्ने, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु न्याय, जलवायु अनुकूलन तथा हानि-नोक्सानीका लागि वित्तीय सहयोग, बहुप्रकोपीय पूर्वसूचना प्रणालीको सुदृढीकरण र जलवायुजन्य विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न जोड दिएको छ।

सम्मेलनका प्रमुख बैठकहरू तथा कार्यक्रमहरू

(क) कोप-३१ को उद्घाटन सत्र (COP31 Opening Plenary)

३. ९ नोभेम्बर २०२६ मा आयोजित सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का कारण जनजीवन, जीविकोपार्जन, भौतिक पूर्वाधार तथा पारिस्थितिक प्रणालीमा परेको गम्भीर असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ। सो अवसरमा उहाँले कोप-३१ अन्तर्गत “पर्वत तथा जलवायु परिवर्तन” सम्बन्धी छुट्टै कार्यक्रम (Work Programme) स्थापना गर्न जोड दिनुभयो। विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्य कायम राख्न, विश्वव्यापी अनुकूलन लक्ष्य (GGA) तथा नयाँ सामूहिक परिमाणात्मक जलवायु वित्त लक्ष्य (NCQG) का ढाँचामा पर्वतीय क्षेत्रका विशिष्ट सूचक समावेश गर्न तथा सगरमाथादेखि समुद्रसम्म जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्नुपर्ने विषयमा उहाँले जोड दिनुभयो।

साथै, नेपालमा विपद्पछिको पुनर्निर्माण छिटो र न्यायोचित ढङ्गले अघि बढाउन अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको विषय पनि उहाँले उठाउनुभयो।

(ख) बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवाद (Baku High-Level Dialogue on Adaptation)

४. १० नोभेम्बर २०२६ मा माननीय परराष्ट्रमन्त्रीज्यूले अतिकम विकसित मुलुकहरू (LDCs) का तर्फबाट बाकु उच्चस्तरीय जलवायु अनुकूलन संवादलाई सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने अतिकम विकसित मुलुकहरूले नै यसको असमानुपातिक असर भोग्नुपरेको उल्लेख गर्दै उहाँले अनुकूलन जलवायु न्यायको अभिन्न पाटोका रूपमा रहनुपर्ने बताउनुभयो। साथै, अनुकूलन वित्तसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई विश्वसनीय कार्यान्वयन योजनामा रूपान्तरण गर्न, वित्तीय स्रोतमा पहुँच सरल बनाउन, राष्ट्रिय अनुकूलन योजनाको कार्यान्वयनमा सहयोग गर्न तथा स्थानीय संस्था र समुदायको नेतृत्वमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उहाँले जोड दिनुभयो।

(ग) अन्ताल्या शिखर सम्मेलन (Antalya Leaders’ Summit)

५. ११ नोभेम्बर २०२६ मा आयोजित अन्ताल्या शिखर सम्मेलनमा माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनाल, माननीय कृषि, वन तथा पर्यावरणमन्त्री श्री गिता चौधरी तथा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरू सहभागी हुनुभयो। उक्त सम्मेलनलाई संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटेरेसलगायत विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख, मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरूले सम्बोधन गर्नुभएको थियो।

(घ) सबैका लागि पूर्वसूचना प्रणालीसम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on Early Warning for All)

६. ११ नोभेम्बर २०२६ मा आयोजित High-Level Event on Early Warnings for All: Delivering on Our Promise to Protect Everyone विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै माननीय परराष्ट्रमन्त्रीज्यूले हिमाली समुदायका लागि प्रभावकारी पूर्वसूचना प्रणाली जीवनरक्षाको बलियो आधार भएको बताउनुभयो। उहाँले उच्च हिमाली क्षेत्रमा वास्तविक तथ्याङ्क सङ्कलन, भूउपग्रहमा आधारित अनुगमन, हिउँको निगरानी तथा स्थानीय भाषामा सहज पूर्वसूचना प्रवाहको आवश्यकता औँल्याउनुभयो।

(ङ) हिमाली मुद्दासम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on Advancing the Mountain Agenda)

७. १२ नोभेम्बर २०२६ मा नेपाल, भुटान, किर्गिस्तान, पाकिस्तान र ताजिकिस्तानको संयुक्त आयोजनामा High-Level Event on Advancing the Mountain Agenda विषयक उच्चस्तरीय कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले पर्वत सङ्कटमा पर्दा समग्र मानवता सङ्कटमा पर्ने सन्देश दिँदै पर्वतीय मुद्दाहरूलाई विश्वव्यापी जलवायु वार्ताको परिधिबाट मूलधारमा ल्याउनुपर्ने बताउनुभयो। यसै सन्दर्भमा उहाँले उत्सर्जनमा व्यापक कटौती, ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त, हानि-नोक्सानीका लागि शीघ्र र न्यायोचित वित्तीय सहयोग, हिमनदी अनुगमन, बहुप्रकोपीय पूर्वसूचना प्रणाली तथा पर्वतीय जोखिमलाई अन्तर्राष्ट्रिय रूपमा पहिचान गर्नुपर्ने विषयमा जोड दिनुभयो।

(च) अनुकूलन वित्तमार्फत पर्वतीय उत्थानशीलता प्रवर्द्धनसम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance)

८. सम्मेलनका क्रममा नेपालले भुटान, किर्गिस्तान तथा अन्तर्राष्ट्रिय साझेदारहरू ICIMOD र Zoï Environment Network सँगको सहकार्यमा High-Level Side Event on Strengthening Mountain Resilience through Adaptation Finance विषयक उच्चस्तरीय कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले हालै नेपालमा गएको विनाशकारी बाढीले निम्त्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै हिमाली क्षेत्रको उत्थानशीलताका लागि पर्याप्त र पहुँचयोग्य अनुकूलन वित्तको आवश्यकता रहेको बताउनुभयो।

(छ) हिन्दुकुश हिमालयमा क्षेत्रीय सहकार्य संयन्त्रसम्बन्धी कार्यक्रम (Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya)

९. ११ नोभेम्बर २०२६ मा नेपाल मण्डप (Nepal Pavilion) मा आयोजित Side Event on Regional Cooperation Mechanism for the Hindu Kush Himalaya: Lessons from Transboundary Climate Disasters विषयक कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। त्यस अवसरमा उहाँले हिन्दुकुश हिमालय क्षेत्रमा विद्यमान साझा जलवायु चुनौती सामना गर्न क्षेत्रीय सहकार्य, प्रविधि हस्तान्तरण, ज्ञान तथा अनुभव आदानप्रदान र बहुसरोकारवालाहरूबीच साझेदारीको आवश्यकता औँल्याउनुभयो।

(ज) साना टापु विकासशील मुलुक तथा अतिकम विकसित मुलुकहरूका जलवायु वित्तीय आवश्यकताका लागि वित्तीय स्रोतमा पहुँचसम्बन्धी कार्यक्रम (Event on Access to Climate Finance Needs for SIDS and LDCs)

१०. १३ नोभेम्बर २०२६ मा आयोजित साना टापु विकासशील मुलुकहरू (SIDS) तथा अतिकम विकसित मुलुकहरू (LDCs) का जलवायु वित्तीय आवश्यकताका लागि वित्तीय स्रोतमा पहुँचसम्बन्धी कार्यक्रमलाई माननीय परराष्ट्रमन्त्रीज्यूले सम्बोधन गर्नुभयो। जलवायु परिवर्तनबाट अति प्रभावित LDCs, LLDCs र उच्च हिमाली पर्यावरणको यथोचित संरक्षणका लागि सहज, अनुमानयोग्य, पहुँचयोग्य र अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल मण्डप (Nepal Pavilion) को उद्घाटन

११. ९ नोभेम्बर २०२६ मा माननीय परराष्ट्रमन्त्रीले COP31 सम्मेलनस्थलमा स्थापना गरिएको नेपाल मण्डपको उद्घाटन गर्नुभयो। नेपाल मण्डपले नेपालको जलवायु महत्त्वाकाङ्क्षा, जैविक विविधता संरक्षणका उपलब्धिहरू तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गरेको छ। उद्घाटनका अवसरमा उहाँले हिमाली पारिस्थितिक प्रणालीको संवेदनशीलता, हिउँमा बढ्दो जोखिम तथा हालैको विनाशकारी भोटेकोशी विपद्का प्रभावबारे चर्चा गर्नुभयो। त्यस अवसरमा माननीय स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री श्री निशा मेहता, प्रतिनिधिसभाका माननीय सदस्य श्री सागर ढकाललगायत विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गर्नुभएको थियो।

द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता

१२. सम्मेलनका दौरान माननीय परराष्ट्रमन्त्रीज्यूले इथियोपियाका परराष्ट्रमन्त्री H. E. Mr Gedion Timothewos, फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री H. E. Mr Ville Tavio र संयुक्त राष्ट्रसङ्घका महासचिव H. E. Mr Antonio Guterres सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो। सो भेटका अवसरमा आपसी हित र चासोका विविध विषयमा छलफल भयो। अतिकम विकसित मुलुकका मन्त्रीस्तरीय प्रतिनिधिमण्डलका साथ संयुक्त राष्ट्रसङ्घका महासचिवसँग सामूहिक भेटवार्ता समेत सम्पन्न भयो।

१३. माननीय परराष्ट्रमन्त्रीज्यूले गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् तुर्किएका अध्यक्ष श्री विनोद पौडेललगायत अन्य पदाधिकारीहरूसँग अन्ताल्यामा अन्तरक्रिया गर्नुभयो। सो छलफलमा उहाँले तुर्कीए तथा विदेशमा रहेका नेपालीहरूका समस्याको समाधान, सेवाग्राहीमैत्री डिजिटल कन्सुलर सेवा, गुनासोको समयमै सम्बोधन तथा सुरक्षित, मर्यादित र उत्पादनशील रोजगारी प्रवर्द्धन गर्न र आप्रवासी श्रमिक, विशेषगरी महिला कामदारको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको कुरा दोहोर्‍याउनुभयो।

१४. यसैगरी, माननीय परराष्ट्रमन्त्रीज्यूले COP31 मा नेपालको सहभागिता, प्राथमिकताहरू एवं अन्य समसामयिक क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग अन्तरक्रिया गर्नुभयो।

बैठक तथा कार्यक्रमहरूको विवरण

१५. ९ देखि १३ नोभेम्बर २०२६ सम्म माननीय परराष्ट्रमन्त्रीज्यूले सहभागी हुनुभएका बैठक तथा कार्यक्रमहरूको संख्यात्मक विवरण देहायबमोजिम रहेको छ:

बैठक तथा कार्यक्रमको विवरण

संख्या

कोप-३१ को उद्घाटन सत्रमा सम्बोधन

१

अन्ताल्या शिखर सम्मेलनमा सहभागिता

१

उच्चस्तरीय तथा विषयगत कार्यक्रममा सम्बोधन

६

नेपाल मण्डप उद्घाटन कार्यक्रम

१

द्विपक्षीय तथा उच्चस्तरीय भेटवार्ता

३

संयुक्त राष्ट्रसङ्घका महासचिवसँग एलडीसी प्रतिनिधिमण्डलको सामूहिक भेट

१

गैरआवासीय नेपाली समुदायसँग अन्तरक्रिया

१

प्रेस सम्मेलन

१

कोप-३१ एजेन्डाउपर छलफल तथा वार्ता

दैनिक एवम् आवश्यकताअनुसार

१६. कोप-३१ मा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट हिमाली मुलुकहरूले भोगिरहेका विशिष्ट चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष जोडदार रूपमा प्रस्तुत गर्न सफलता मिलेको छ। विशेषतः पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम, जलवायु वित्तमा न्यायोचित पहुँच, हानि-नोक्सानीको प्रभावकारी सम्बोधन, हिमाली क्षेत्रको वैज्ञानिक अनुगमन, प्रविधि हस्तान्तरण, क्षमता विकास, पूर्वसूचना प्रणाली र क्षेत्रीय सहकार्यका विषयमा नेपालले स्पष्ट र सशक्त धारणा राखेको छ। नेपालको सहभागिता केवल राष्ट्रिय जलवायु सरोकार प्रस्तुत गर्नमा सीमित नरही पर्वतीय जलवायु जोखिमलाई विश्वव्यापी जलवायु कार्यको मूलधारमा ल्याउने, जलवायु न्यायका पक्षमा आवाज उठाउने तथा अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा समेत केन्द्रित रहेको थियो।

१७. COP31 का क्रममा माननीय परराष्ट्रमन्त्रीज्यू सहभागी हुनुभएका विभिन्न बैठक तथा द्विपक्षीय भेटवार्ताका सम्बन्धमा परराष्ट्र मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रेषित विज्ञप्ति तथा सूचनाहरू निरन्तर प्रवाह भएका छन्।

१८. अन्त्यमा, कोप-३१ मा नेपालको सहभागिता, उच्चस्तरीय बैठक, द्विपक्षीय भेटवार्ता तथा जलवायु कूटनीतिसम्बन्धी गतिविधिका समाचार र जानकारी नियमित रूपमा सम्प्रेषण गरी आम नागरिकसमक्ष पुर्‍याउन योगदान गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एवं सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

१९. आगामी दिनमा समेत नेपालको जलवायु न्याय, हिमाली पारिस्थितिक प्रणालीको संरक्षण तथा दिगो र उत्थानशील भविष्य निर्माणका प्रयासमा सञ्चारजगत्को निरन्तर सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।

___
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं