A.D.:
Nepal Samvat: 1146 CHILLAGA SAPTAMI - 22
March 09, 2026, 08:55 PM
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई परराष्ट्र मन्त्रालय तथा उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले नजिकबाट नियालिरहेका छन् । त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखिएको छ ।
१. यसै सन्दर्भमा मन्त्रालयले आज पश्चिम एसिया क्षेत्रका नेपाली नियोगहरू र गैरआवासीय नेपाली संघ (NRNA) तथा नेपाली समुदायका अन्य संघसंस्थाका प्रतिनिधिहरूसँग भर्चुअल बैठक आयोजना गरी त्यहाँ रहेका नेपालीहरूको सुरक्षा, उद्धार तथा सहायताका लागि गर्नुपर्ने समन्वय र सहकार्य तथा हाल भइरहेका प्रयासहरूबारे छलफल तथा विचार विमर्श गरेको छ । उक्त बैठकलाई सम्बोधन गर्नुहुँदै परराष्ट्र सचिव श्री अमृत बहादुर राईले नेपाली नागरिकहरूको सुरक्षा र हित सुनिश्चित गर्न हालसम्म भएको सहकार्यका लागि धन्यवाद ज्ञापन गर्दै थप सक्रियताकासाथ सबैले मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
२. नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेका छन् । राहदानी लगायत अत्यावश्यक कार्यका लागि सेवाग्राहीहरूले नियोगहरूले उपलब्ध गराएका फोन नम्बर वा इमेलमार्फत समय मिलाई सेवा लिन सक्नुहुनेछ ।
३. उक्त क्षेत्रका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारीहरू नियमित रूपमा अद्यावधिक गरिरहेका छन् । स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना तथा सावधानीका उपायहरूबारे अद्यावधिक रहन अनुरोध गरिन्छ । साथै, कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन पुन: आग्रह गरिएको छ ।
४. पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ५७,१०० जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । प्राप्त विवरणहरू अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने छ ।
५. पश्चिम एसिया क्षेत्रका केही स्थानहरूबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेका छन् । नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको छ । इच्छुक नेपाली नागरिकहरूले हाल उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्नुहुनेछ ।
६. साउदी अरब हॅुदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लान सहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्नुहुनेछ ।
कुनै समस्या आइपरेमा मन्त्रालयको Emergency Control Room का टेलिफोन नम्बर वा इमेल तथा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क माध्यमहरूमा तुरुन्त सम्पर्क गर्नुहुन मन्त्रालय पुनः अनुरोध गर्दछ ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २५