national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHAULAGA EKADASHI - 26

प्रेस नोट- माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनाल 9th Indian Ocean Conference मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार माध्यमसँगको संवाद २०८२ चैत्र ३० (१३ अप्रिल २०२६)

प्रेस नोट- माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनाल 9th Indian Ocean Conference मा सहभागी भई स्वदेश फर्कनुहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार माध्यमसँगको संवाद २०८२ चैत्र ३० (१३ अप्रिल २०२६)

 

  1. नवौं हिन्द महासागर सम्मेलन (9th Indian Ocean Conference – IOC) मा सहभागी हुन म २०८२ चैत २७ (९ अप्रिल २०२६) मा मौरिसस प्रस्थान गरी आज फर्केको छु।
     
  2. Collective Stewardship for Indian Ocean Governance” भन्ने मूल विषयमा १०-१२ अप्रिल २०२६ मा मौरिससमा सम्पन्न उक्त महत्त्वपूर्ण सम्मेलनमा नेपाल सरकारको प्रतिनिधित्व गर्दै सक्रिय र अर्थपूर्ण सहभागिता जनाएको छु।
     
  3. सम्मेलनका क्रममा ११ अप्रिलमा आयोजित प्लेनरी सत्रलाई सम्बोधन गर्दै मैले क्षेत्रीय सहकार्यको पुनर्संरचना, समावेशी तथा नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीहरूको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वित प्रयासको आवश्यकता माथि जोड दिएको थिएँ।
     
  4. साथै, भूपरिवेष्ठित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारहरूलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच, कनेक्टिभिटी र क्षेत्रीय सहकार्य, साझेदारीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएँ।
     
  5. यस सम्मेलनले नेपाललाई हिन्द महासागर क्षेत्रसँग आफ्नो कूटनीतिक, आर्थिक तथा रणनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ। विशेषतः विकसित भू-राजनीतिक परिवेशमा नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई थप सशक्त ढंगले अभिव्यक्त गर्ने अवसर प्राप्त भएको छ।
     
  6. सम्मेलनका अवसरमा मैले विभिन्न मित्र राष्ट्रका समकक्षीहरूसँग उच्चस्तरीय द्विपक्षीय भेटघाट सम्पन्न गरेँ। यस क्रममा भारत, भुटान, बङ्गलादेश, सिँगापुर, मौरिसस, सेसल्स, तान्जानिया लगायतका देशहरुका विदेश मन्त्रीसँग भेटवार्ता भएको थियो।
     
  7. यी भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, व्यापार तथा लगानी विस्तार गर्ने, ऊर्जा सहकार्य सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा कनेक्टिभिटी र जनस्तरका आदान–प्रदानलाई अझ सशक्त बनाउने विषयहरूमा ठोस छलफल भएको छ। साथै, क्षेत्रीय स्थायित्व, आपूर्ति शृङ्खला सुरक्षा, ऊर्जा संकट व्यवस्थापन तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत धारणा आदान-प्रदान गरिएको छ।
     
  8. यस भ्रमणका उपलब्धिहरूले नेपालको कूटनीतिक पहुँचलाई फराकिलो बनाउनुका साथै हिन्द महासागर क्षेत्रसँगको सहकार्यलाई संस्थागत र परिणाममुखी दिशामा अघि बढाउन आधार तयार गरेको मैले विश्वास लिएको छु। बहुपक्षीय मञ्चहरूमा नेपालको सक्रिय, रचनात्मक र जिम्मेवार भूमिकालाई अझ सुदृढ बनाउने दिशामा यो भ्रमण महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास लिएको छु।
     
  9. यस क्षेत्रका मित्रराष्ट्रहरूले हालको संकट सम्बोधन गर्न लिएको रणनीति नयाँ सरकारका प्राथमिकता र सहकार्यका संभावनाका विषयमा पनि फलदायी छलफल भएको छ।
  10. मौरिससमा रहेका नेपाली समुदायसँग भेटघाट गरी उनीहरुका चासो र अपेक्षाका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पनि मिलेको छ।
  11. मन्त्रालयबाट जारी प्रेस वक्तव्य, सामाजिक सञ्जाल (X  र Facebook)  का पोस्टहरू लगायतका माध्यमबाट यस सम्बन्धी थप विवरणहरू प्रवाह गरिएको छ। यी महत्त्वपूर्ण विषयहरूमा निरन्तर रूपमा सकारात्मक समाचार संप्रेषण गर्नुभएकोमा यहाँहरू सबैलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।