A.D.:
Nepal Samvat: 1146 CHILLAGA SAPTAMI - 22
March 10, 2026, 10:05 PM
पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू सक्रिय रहेका छन् । सोही अनुरूप, समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय भइरहेको छ ।
१. परराष्ट्र सचिव श्री अमृत बहादुर राईको संयोजकत्वमा गठित Emergency Response Team (ERT) को दोस्रो बैठक आज परराष्ट्र मन्त्रालयमा सम्पन्न भयो ।बैठकमा पश्चिम एसियाको पछिल्लो अवस्थाका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हित संरक्षणका विषयमा नेपाल सरकारका तर्फबाट हालसम्म भएका प्रयास तथा प्रगतिबारे समीक्षा भयो । सोका लागि आवश्यक समन्वय र पहललाई निरन्तरता दिने, हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने, मन्त्रालयमा सञ्चालनमा ल्याइएको Emergency Control Room (ECR) तथा नियोगहरूसँग सम्पर्कमा आएका नेपाली नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने लगायतका विषयमा छलफल भई आवश्यक निर्णयहरू गरिएका छन् ।
२. नेपाली राजदूतावास तथा महावाणिज्यदूतावासहरू पूर्ववत रूपमा खुला रहेका छन् । तसर्थ, राहदानी लगायत अत्यावश्यक सेवाका लागि सेवाग्राहीहरूले नियोगमा सम्पर्क गर्न सक्नुहुनेछ । त्यसैगरी, हवाई उडान तालिका सम्बन्धी जानकारीका लागि नियोगहरूका Updates तथा सूचनाहरूमार्फत जानकारी लिन सक्नुहुनेछ ।
३.सम्बन्धित मुलुकका सरकारहरू तथा नेपाली नियोगहरूले नियमित रूपमा सूचना तथा Advisory हरू जारी गरिरहेका हुनाले सूचना, जानकारी तथा सुरक्षासम्बन्धी सावधानीका मापदण्ड र उपायहरूबारे सचेत र सजग रहन पुनः अनुरोध गरिएको छ ।
४. कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म करिव ६१,९८९ जनाले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । त्यसरी दर्ता भएका विवरणहरू अध्ययन गरी आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
५. प्रभावित क्षेत्रमा रहनुभएका कुनै नेपाली नागरिकलाई कुनै समस्या आइ परेमा मन्त्रालयको Emergency Control Room का टेलिफोन नम्बरहरू वा इमेल र सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न सक्नुहुनेछ ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २६