वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
२१ मंसिर, २०८२
नेपाली राजदूतावास, मस्कटले ०५ डिसेम्बर २०२५ (१९ मंसिर २०८२) को दिन नेपाल घर, मस्कटमा नेपाली कामदारहरूलाई उपयोगी श्रमिक सचेतना तथा वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतीकरण, महामहिम राजदूतसँग अन्तरक्रिया, राहदानी-कन्सुलर र निशुल्क स्वास्थ्य जाँच शिविर सहितको वृहत कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो।
ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले परम्परागत पानस बत्ती बालेर औपचारिक कार्यक्रमको सुरुवात गर्नु भयो। कार्यक्रममा नेपाली कामदारहरुलाई जानकारी प्रदान गर्न दैनिक जीवनमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, विदेशमा रहँदा शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुने तरिका, सामाजिक सुरक्षा कोष, ओमानमा गर्न हुने नहुने कार्य, श्रमिक सचेतना र वित्तीय साक्षरताजस्ता महत्वपूर्ण विषयहरूमा प्रस्तुतीकरण गरिएका थिए। प्रस्तुतीकरणहरूमार्फत कामदारहरूलाई सुरक्षित र उत्पादनशील जीवनशैलीका लागि जानकारी प्रदान गरिएको थियो। प्रथम सचिव श्री बिशेषकुमार साह, श्रम सहचारी श्री दामोदर ज्ञवाली, नेपाली चिकित्सक डा. कमल अर्याल, तथा गैर-आवासीय नेपाली सोसल क्लब ओमानका सदस्यहरु श्री श्याम भट्टराई र श्री विनोदकुमार दासले प्रस्तुतीकरण गर्नुभएको थियो।
उक्त अवसरमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी शिविर सञ्चालन गरिएको थियो। यो शिविर विशेषगरी कार्यदिनमा बिदा लिन नसक्ने वा टाढाबाट आउने व्यक्तिहरूलाई लक्षित थियो। सोही समयमा बदर अल सामा अस्पतालको ६ सदस्यीय चिकित्सक टोलीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको थियो। सेवाग्राहीहरूले विदाको दिन यस्तो बृहत सेवा-मूलक कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभएको थियो।
औपचारिक कार्यक्रमपूर्व महामहिम डोरनाथ अर्यालले ओमानस्थित नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विकास कूटनीति सम्बन्धी स्थायी समितिको ११औँ बैठक संचालन गर्नुभएको थियो। बैठकमा राजदूतावासको भूमिका, नीतिगत सुधार र नेपाली कामदारको उद्दार एवं कल्याणमा सरोकारवालाको पहल, तथा पर्यटन, लगानी, व्यापार र रोजगार प्रवर्द्धनका कार्यक्रमहरू आयोजना गर्न आवश्यक समन्वयमा गर्ने विषयहरु उपर छलफल केन्द्रित थियो। गैर-आवासीय नेपाली सोसल क्लबका अध्यक्ष श्री सुरेश खड्काले सम्बन्धित नीतिहरू पुनरावलोकन गर्न सुझाव सहितको पत्र हस्तान्तरण गर्नुभएको थियो। राजदूतले समितिका सदस्यहरुको जिज्ञासाको उत्तर दिनुका साथै नेपाली राजदूतावासको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन उपयोगी सुझावहरू संकलन गर्नुभएको थियो।
नेपाली राजदूतावासले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने बदर अल सामा अस्पतालको चिकित्सक टोली, नेपाली संघ-संस्था तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ। ओमानमा रहनु भएका नेपालीहरूको हित प्रवर्द्धनमा प्रतिबद्ध रहँदै राजदूतावासद्वारा भावी दिनहरूमा पनि नेपाली समुदायको लागि यस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
नेपाली राजदूतावास, मस्कट
०५ डिसेम्बर २०२५ (१९ मंसिर २०८२)