A.D.:
Nepal Samvat: 1146 THIMLATHWA PARU - 1
November 21, 2025, 06:15 PM
विगत केही बर्षदेखि खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) नेपाली विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको रोजाइको गन्तव्य बन्दै गइरहेको छ । नेपाली विद्यार्थीहरु उक्त मुलुकको केन्द्र सरकारद्वारा संचालित विश्वविद्यालयहरु, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरु, प्रदेशको रुपमा रहेका ७ वटा इमिरेट्सहरुका शिक्षा मन्त्रालयमा दर्ता भई संचालित विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरु र त्यहाँको Free Zone मा स्थापित तथा संचालित विभिन्न विश्वविद्यालय, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरुमा जाने गरेको पाइएको छ ।
हालैका दिनमा संयुक्त अरब इमिरेट्सका Free Zone हरुमा स्थापित तथा संचालित त्यस्ता शैक्षिक संस्थाहरु मापदण्ड अनुरुप संचालन नभएको, विभिन्न विदेशी विश्वविद्यालयसँग आवद्ध (affiliated) भएको भनिएकोमा त्यस्तो नपाइएको, कलेज तथा व्यवसायिक तालिम केन्द्रहरुको आफ्नै भवन नभएको, केही महिना मात्र भाडामा लिएको apartment मा भौतिक कक्षा संचालन गरी त्यसपछि online कक्षा हुने गरेको र त्यस्तो कक्षा पनि नियमित नहुने, विद्यार्थी त्यहाँ पुगेपश्चात विश्वविद्यालय/कलेज/ व्यवसायिक तालिम केन्द्रले नै रोजगारीको व्यवस्था गरिदिने प्रतिबद्धता गरेकोमा प्रायजसो सबै विद्यार्थी आफैंले काम खोज्नुपर्ने अवस्था रहेको लगायतका गुनासाहरु प्राप्त हुने गरेका छन् । यस विषयमा केही विद्यार्थीहरुले केही दिन पहिले परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्बोधन गरी सम्भावित ठगीमा संलग्न नेपालका सम्बन्धित शैक्षिक परामर्श केन्द्रहरु उपर छानवीन गरी आवश्यक कार्यवाही हुन अनुरोध गर्दै निवेदन समेत पेश गर्नुभएको छ ।
तसर्थ, संयुक्त अरब इमिरेट्सका खास गरी Free Zone मा रहेका विश्वविद्यालय/कलेज/ व्यवसायिक तालिम केन्द्रमा उच्च शिक्षा अध्ययनका लागि जानुपूर्व आवश्यक सत्यतथ्य बुझी त्यस्ता शैक्षिक संस्थाहरु आधिकारिक भए/नभएको र सूचीकृत भएको/नभएको यकीन गर्न, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक अध्ययन स्वीकृति (No Objection Letter) प्राप्त गरेर मात्र जान र यथासमयमै सम्भावित ठगीबाट बच्ने उपाय अवलम्बन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।
परराष्ट्र मन्त्रालय, सिंहदरवार
२०८२।०८।०५