Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1145 KAULAGA ASTAMI - 23

नेपाली नागरिक विपिन जोशीका सम्बन्धमा प्रेस विज्ञप्ति

आज अपरान्ह परराष्ट्र सचिव श्री अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी डाइरेक्टर जनरल महामहिम Mr. Eden Bar Tal सँग गरेको टेलिफोन कुराकानीमा Mr. Bar Tal ले नेपाली नागरिक विपिन जोशीको दु:खद निधन भएको औपचारिक जानकारी गराउँदै इजरायल सरकारको तर्फबाट मृतकप्रति श्रद्धान्जली ब्यक्त गर्दै निजको परिवार, नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।

हमासले विपिन जोशीको शव हिजो Red Cross मार्फत इजरायललाई हस्तान्तरण गरेपश्चात शव पहिचान भैसकेको ब्यहोरा इजरायलस्थित नेपाली राजदूतावासका प्रतिनिधिले आज तेल अविवस्थित National Centre of Forensic Medicine को भ्रमण गरी थप पुष्टि गरेको सन्दर्भमा नेपाली राजदूतावासले त्यहाँका सम्बन्धित निकायहरूसँग नजिकबाट सम्पर्क र समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया शुरू गरेको छ।

७ अक्टोबर २०२३ देखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका इजरायलको Learn and Earn कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ बर्षको अवधिमा विभिन्न तहबाट यथासम्भव सबै किसिमका प्रयासहरु गरेको ब्यहोरा विदितै छ। इजरायल र हमासबीच युद्धविराम भएपछि 13 अक्टोवर 2025 का दिन इजरायली सेना (IDF) ले त्यहाँस्थित नेपाली राजदूत, विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमार्फत रिहा हुने बन्दीहरुमा विपिन जोशीको नाम समावेश नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी गराएको थियो।

विपिन जोशीको मृत्युको खबरले हामी सबै स्तब्ध भएका छौँ। यस दुखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना ब्यक्त गर्दछौँ।

विपिन जोशीको शव नेपाल ल्याइसकेपश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालाहरुसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधा आदिको लागि उचित पहल जारी राखिने व्यहोरा अनुरोध छ ।

विपिन जोशीको अवस्थाका विषयमा निरन्तर रुपमा सूचना सम्प्रेषण गर्नुहुने संचारकर्मीहरु, सकारात्मक सहयोगको प्रतिबद्धता जनाउने मित्रराष्ट्रहरु र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ।

 

——

परराष्ट्र मन्त्रालय

सिंहदरबार, काठमाडौँ।

२०८२ आश्विन २८