प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLAGA PARU - 16

Press Note on the Recent Developments in West Asia and the Status of Nepali Citizens in the Region

पश्चिम एसिया क्षेत्रमा विगत केही समयदेखि विकसित घटनाक्रमलाई मन्त्रालयले निरन्तर रूपमा नजिकबाट नियालिरहेको छ। उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्थाबारे अद्यावधिक जानकारी संकलन तथा आवश्यक समन्वयका लागि पश्चिम एसियास्थित १० वटा नेपाली नियोगहरूबाट त्यहाँका सरकारी निकायहरू तथा नेपाली समुदायसँग नजिकको सम्पर्क र सहकार्य भइरहेको र ती नियोगहरूबाट दैनिक रूपमा मन्त्रालयमा प्रतिवेदन पनि प्राप्त भइरहेका छन्। प्राप्त प्रतिवेदनका आधारमा परिस्थितिको निरन्तर विश्लेषण गर्दै आवश्यकता अनुसार थप कूटनीतिक पहल, परामर्श तथा समन्वय अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको छ। 


१.    अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको क्रममा एक जना नेपाली युवाको दुःखद निधन भएको जानकारी संयुक्त अरब इमिरेट्स (यूएई) सरकारबाट प्राप्त भएको छ। यस सम्बन्धमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा परिवारजनलाई जानकारी गराइसकिएको छ। निजको शव स्वदेश फिर्ता ल्याउन अबुधाबीस्थित नेपाली राजदूतावासबाट आवश्यक कारबाही अगाडि बढाइएको छ। यस दुःखद घडीमा मन्त्रालय दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।


२.    उक्त घटनाबाहेक हालसम्म सो क्षेत्रमा रहेका तथा ट्रान्जिटको क्रममा त्यहाँका विमानस्थल प्रयोग गर्ने सबै नेपाली नागरिकहरू सुरक्षित रहेको जानकारी नियोगहरूबाट प्राप्त भएको छ। 


३.    पश्चिम एसियामा करिब १८ लाखको संख्यामा रहेका नेपालीहरूको सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने यस प्रकारको परिस्थितिको प्रभावकारी सम्बोधनका लागि नेपाल सरकारले परराष्ट्र सचिवको संयोजकत्वमा एक Emergency Response Team गठन गरिसकेको छ। उक्त टोलीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा मन्त्रालयहरू तथा वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभाग लगायतका निकायहरूबाट सहसचिवस्तरका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको छ। यस टोलीमार्फत समन्वित, द्रुत तथा प्रभावकारी कार्य सम्पादन गर्ने लक्ष्य राखिएको छ।


४.    सूचना प्रविधिको अधिकतम प्रयोग गरी उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलन गर्नु अत्यन्त आवश्यक रहेको छ। त्यसका लागि कन्सुलर सेवा विभागबाट सुरक्षित ‘अनलाइन डाटा कलेक्सन सिस्टम' विकास गरी नियोगहरूबाट सूचना जारी भई विवरण संकलन कार्य शुरू गरिएको छ। यसबाट आवश्यक स्थानमा शीघ्र उद्धार, परामर्श तथा अन्य कन्सुलर सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।


५.    मन्त्रालयले आवश्यकतानुसार सम्बन्धित मुलुकहरूका काठमाडौंस्थित नियोगहरू, अन्तर्राष्ट्रिय संघसंस्थाहरू तथा पश्चिम एसियास्थित नेपाली नियोगहरूमार्फत सम्बन्धित मुलुकका सरकारहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ। स्थिति सामान्य नभएसम्म यो प्रकृया जारी रहने छ। 


६.    ठूलो संख्यामा उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षासँग जोडिएको यस महत्त्वपूर्ण विषयप्रति सबैको चासो रहनु स्वाभाविक रहेको सन्दर्भमा उनीहरूको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको व्यहोरा जानकारी गराउँछौं। तसर्थ, सम्बन्धित मुलुकको सरकारले जारी गरेका एडभाइजरी र यस मन्त्रालय तथा त्यहाँस्थित नेपाली नियोगहरूबाट जारी भएका आधिकारिक सूचनाहरूमा मात्र विश्वास गर्न र सुरक्षाका उपायहरू पूर्णतः अवलम्बन गर्नुहुन अनुरोध छ। साथै, नजिकको नेपाली नियोग र नेपाली समुदायसँग सम्पर्कमा रहन मन्त्रालय सम्बन्धित सबैमा अनुरोध गर्दछ। यस विषयमा थप जानकारीहरू समय-समयमा अद्यावधिक गरिने छ। 


संयमित र तथ्यमा आधारित सूचना सम्प्रेषणप्रति मन्त्रालय सम्पूर्ण सञ्चारमाध्यमहरूलाई हार्दिक आभार प्रकट गर्दै यस दिशामा निरन्तर सहयोग र सहकार्यका लागि अनुरोध समेत गर्दछ।

परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन १९