सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू जनवादी गणतन्त्र चीनको भ्रमण समापन गरी स्वदेश फर्कनुहुँदा परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको प्रेस नोट

(२०८२ भदौ १८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ)

  • मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H. E. Xi Jinping) को मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू २०८२ भदौ १४ देखि १८ (तदनुसार सन् २०२५ अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको दिने‍ भ्रमण सम्पन्न गरी आज  स्वदेश  फर्कनुभएको छ।
  • यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन शहरमा आयोजित साङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिई सो संगठनमा नेपालको सहभागिताको स्तर अभिबृद्धि गर्नुका साथै सो मार्फत् नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्नु रहेको थियो।
  • सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणबाट प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवं भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मीबाट सम्प्रेषित समाचारहरूबाट अवगत भएकै छ।
  • यस भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले २०८२ भदौ १४ (तदनुसार २०२५ अगष्ट ३०) गते चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङ (H. E. Xi Jinping) सँग थियानजिनमा भेट गरी दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गर्नुभएको थियो।
  • शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्या रहित रहेको उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गर्नुभयो ।
  • बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहमति भएका लगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उहाँले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि अनुरोध गर्नुभयो ।
  • नेपालको भूभाग लिपुलेक नाका मार्फत् सीमा व्यापार गर्ने सम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति सम्माननीय प्रधानमन्त्रीज्यूले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।
  • चीनका महामहिम राष्ट्रपति श्री सी चिनफिङले समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति राख्नुभयो। उहाँले चीनले संयुक्त राष्ट्रसंघ र साङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि उल्लेख गर्नुभयो।
  • साथै चीनका महामहिम राष्ट्रपतिले एक चीन सिद्धान्त प्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबीच सहमति भएका उच्च-गुणस्तरीय बीआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत् नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने कुरा दोहोर्याउनुभयो।
  • भ्रमणका दौरान चीनका महामहिम राष्ट्रपति र उहाँकी धर्मपत्नी म्याडम पेङ लियान (Madam Peng Liyuan) ले २०८२ भदौ १५ (तदनुसार २०२५ अगष्ट ३१) गते आयोजना गर्नुभएको स्वागत भोज (Welcome Banquet) मा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभयो।
  • सम्माननीय प्रधानमन्त्रीज्यू २०८२ भदौ १६ (तदनुसार २०२५ सेप्टेम्बर १) गते थियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन प्लस शिखर सम्मेलनमा सहभागी हुनुभयो ।  
  • साङ्घाई सहयोग संगठनका सदस्य राष्ट्रहरू, पर्यवेक्षक राष्ट्र, संवाद साझेदारहरू तथा अन्य अतिथि समेत गरी २४ मुलुकका राष्ट्र/सरकार प्रमुखहरू उपस्थित शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीज्यूले बहुपक्षीयताको सुदृढीकरण, क्षेत्रीय सहयोग प्रवर्द्धन तथा दिगो विकास हासिल गर्ने लगायतका विषयमा विचारहरू प्रस्तुत गर्नुभयो। साङ्घाई सहयोग संगठनमा नेपालको आकांक्षा संवाद साझेदार मात्र नभई पूर्ण सदस्यको रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले नियममा आधारित बहुपक्षीयताको भविष्य  विस्तारित सम्पर्क सञ्जाल, परामर्श र सहकार्यमा आधारित हुनुपर्ने मार्ग चित्र प्रस्तुत गर्नुभयो । (उक्त सम्बोधनको पूर्णपाठ परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ ।)
  • साङ्घाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले विभिन्न मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो।
  • रूसी महासंघका राष्ट्रपति H. E. Mr. Vladimir Putin सँगको भेटवार्तामा दुवै नेताहरूले नेपाल–रूस सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल गर्नुभयो। साथै, सम्माननीय प्रधानमन्त्रीज्यूले रुसी महासंघका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभयो।
  • लाओ जनवादी प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति H. E. Dr. Thongloun Sisoulith सँग भएको भेटमा दुवै नेताहरूले संस्कृति, कृषि र जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने बारेमा विचार विमर्श गर्नुभयो। साथै, भूपरिवेष्ठित विकासोन्मुख मुलुकहरू (LLDCs) तथा अतिकम विकसित मुलुकहरू (LDCs) का हित प्रवर्द्धनका निमित्त अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने बारेमा समेत सहमति भयो।
  • त्यसैगरी, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति H. E. Dr. Mohamed Muizzu सँग भएको भेटमा दुवै नेताहरूले कृषि, पर्यटन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभयो। साथै, उहाँहरुले पर्वतीय तथा सामुद्रिक मुलुकहरूको विशेष चासोलाई समेट्दै जलवायु परिवर्तनका गम्भीर चुनौतीको सामना गर्न विभिन्न तहमा सहकार्य गर्नुपर्ने आवश्यकताका बारेमा विचार विमर्श गर्नुभयो।
  • समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री H. E. Mr. Pham Minh Chinh  सँगको भेटघाटमा नेपाल–भियतनाम मैत्री सम्बन्धलाई अझ सुदृढ तुल्याउने एवं व्यापार तथा लगानी, विज्ञान र प्रविधि, नवप्रवर्तन, डिजिटलाइजेशन, जलवायु परिवर्तन, खेलकुद, शिक्षा, संस्कृतिका साथै हवाई सम्पर्क जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भयो।
  • कम्बोडिया अधिराज्यका प्रधानमन्त्री H. E. Dr. Samdech Moha Borvor Thipadei Hun Manet सँग भेटघाट हुँदा दुई मुलुकबीच व्यापार, लगानी, पर्यटन, सांस्कृतिक सहयोग प्रबर्द्धन गर्ने विषयमा छलफल भएको थियो। साथै, संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने सहमति भयो।
  • थियानजिनमा रहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले थियानजिन नगरपालिकाको हुयिगुआन गाउँमा रहेको धानको पकेट क्षेत्रको भ्रमण गर्नुभयो। भ्रमणको दौरान उहाँले थियानजिनको प्रसिद्ध सियाओझान धानको ऐतिहासिक विकास र आधुनिक युगमा यसलाई कसरी पुनर्जीवित गरियो भन्नेबारे जानकारी हासिल गर्नुभयो।  त्यसैगरी सम्माननीय प्रधानमन्त्रीज्यूले चाउ एनलाई र डेंग यिङ्चाओ स्मारक संग्रहालयको पनि भ्रमण गर्नुभयो।
  • थियानजिनमा आयोजित साङ्घाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागिता पश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूले बेइजिङको भ्रमण गर्नुभयो । बेइजिङमा उहाँले चीनका महामहिम उपराष्ट्रपति श्री हान चङ्ग (H. E. Han Zheng) सँग २०८२ भदौ १७ (तदनुसार २ सेप्टेम्बर २०२५) गते द्विपक्षीय भेट गरी नेपाल-चीन सम्बन्धका विविध विषयहरूमा छलफल गर्नुभएको थियो। छलफल पश्चात् सम्माननीय प्रधानमन्त्रीज्यूको सम्मानमा चीनका महामहिम उपराष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा उहाँ सहभागी हुनुभयो ।
  • सम्माननीय प्रधानमन्त्रीज्यू २०८२ भदौ १८ (तदनुसार ३ सेप्टेम्बर २०२५) गते चीन सरकारद्वारा बेइजिङमा आयोजित 80th Anniversary of the Victory of the Chinese People’s War of Resistance Against Japanese Aggression and World Anti-Fascist War’ समारोहमा सहभागी हुनु भयो।
  • सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग भएको द्विपक्षीय भेटघाट र वार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग भएको वार्ताबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको छ।
  • सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमण दलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय श्री पूर्ण बहादुर खड्का, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री रघुजी पन्त, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डे, सम्माननीय प्रधानमन्त्रीज्यूको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य माननीय श्री छबिलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव श्री अमृत बहादुर राई, चीनका लागि नेपालका महामहिम राजदूत डा. कृष्णप्रसाद ओली  लगायत नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनुभएको थियो।
  • यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू तथा उहाँको प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम उपराष्ट्रपति तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई नेपाल सरकार हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
  • सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणका विषयमा निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सु-सूचित गर्न पुर्याउनुभएको योगदानका लागि सम्पूर्ण सञ्चारकर्मीहरू हार्दिक धन्यवादका पात्र हुनुहुन्छ ।
  • सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा उहाँले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

***