Press Release issued by the Embassy of Nepal, State of Kuwait on the Economic Diplomacy

प्रेस विज्ञप्ति

 

“कुवेतमा नेपाली नागरिकहरूका लागि रोजगारीको अवसरका खोजी” विषयमा यस राजदूतावासले आज एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा कुवेतका प्रतिष्ठित रोजगारदाता कम्पनीहरूका उच्च तहका प्रतिनिधिहरूको सहभागिता थियो।

अन्तरक्रिया कार्यक्रममा महामहिम राजदूत श्री यज्ञबहादुर हमालले नेपाल तथा कुवेतवीच रहेको सौहार्दपूर्ण सम्बन्ध एवं नेपालीहरूको इमान्दारिता, लगनशीलता र विश्वसनीयताको कारण कुवेतमा हाल ठूलो संख्यामा नेपालीहरू रोजगारीमा रहेका र त्यसबाट नेपालीहरूलाई आय आर्जन हुनुका साथै कुवेतको विकास कार्यमा समेत सहयोग पुगी दुई देशवीचको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुगेको उल्लेख गर्नुभयो। उहांले नेपालमा साधारण जनशक्ति मात्र नभएर दक्ष एवं अर्धदक्ष जनशक्ति समेत उपलव्ध रहेको कुरा जानकारी गराउंदै आफुले कुवेतका उत्तम रोजगारदाता कम्पनीका प्रमुखहरूसंग भेटघाट गरी नेपाली जनशक्तिलाई रोजगारी प्रबर्द्धन गरिदिन आग्रह गर्दै आएको र उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको कुरा उल्लेख गर्नुभयो र अन्तरक्रियाका सहभागीहरूलाई समेत नेपालबाट थप जनशक्ति मांग गर्नका लागि अनुरोध गर्नुभयो।

index

अन्तरक्रियाको समयमा राजदूतावासका अधिकृतहरूबाट कुवेतमा नेपालीहरूका लागि उपलव्ध रोजगारीको वर्तमान अवस्था, समस्या एवं चुनौतीहरू र रोजगारी प्रबर्द्धनका सम्भाव्यताको वारेमा प्रस्तुतिकरण गरिएको थियो। तत्पश्चात् सहभागीहरूका तर्फबाट प्रश्न एवं जिज्ञाशाहरू राखिएको र महामहिम राजदूत एवं कर्मचारीहरूबाट त्यस सम्बन्धी जवाफ एवं धारणा व्यक्त गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरूले नेपाली जनशक्तिको विश्वसनियता उच्च रहेको कुरा जनाउंदै आगामी दिनहरूमा नेपालबाट थप जनशक्ति माग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सो समयमा उनीहरूले नेपाली नागरिकहरूका लागि कुवेतमा रोजगारी प्रबर्द्धन गर्ने सिलसिलामा राजदूतावासबाट भएका कार्यहरू सकारात्मक रहेको समेत उल्लेख गरेका थिए।

अन्तरक्रिया कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यसबाट कुवेतमा नेपालको दक्ष, अर्धदक्ष एवं अन्य जनशक्तिलाई भविष्यमा रोजगारीका थप अवसरहरू सृजना गर्न मद्दत पुग्ने कुरा राजदूतावासले विश्वास गरेको छ।

नेपाली राजदूतावास
कुवेत
२०७३ असार २९

Click here for pdf file