चीनको अौपचारिक भ्रमण पश्चात् मिति २०७२ चैत्र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्माननीय प्रधानमन्त्री श्री के.पी शर्मा अोलीज्यूले सञ्चारकर्मीहरुलाई सम्बोधन गर्नुभएको प्रेस नोट

प्रेस  नोट

(१४ चैत्र २०७२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौ)

उपस्थित  सञ्चारकर्मी  मित्रहरू,

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री महामहिम ली खच्याङ्गको मैत्रिपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण पूरा गरी आज म स्वदेश फर्किएको छु।

भ्रमणबाट प्राप्त महत्वपूर्ण उपलव्धिका बारेमा भ्रमण दलका सञ्चारकर्मी मित्रहरुबाट निरन्तररुपमा समाचार सम्प्रेषण भएको हुँदा यहाँहरु पनि सो सम्वन्धमा जानकार नै हुनुहुन्छ।

संविधान निर्माणसँगै मुलुकले प्राप्त गरेको राजनैतिक स्थिरताको जगमा मुलुकको आर्थिक सामाजिक विकास गरी समुन्नत नेपाल निर्माण गर्ने दिशामा सरकार प्रतिवद्ध रहेको छ।

सरकार मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय हित र स्वाभिमानको अभिवृद्धि गर्दै तीव्रतर आर्थिक समुन्नतिका लागि आन्तरिक तथा वाह्य श्रोत र साधनको अधिकतम परिचालन गर्ने नीति र कार्ययोजनाका साथ अगाडि बढिरहेको छ।

यसक्रममा छिमेकी मुलुकहरुको सद्‍भाव तथा सहयोग र उनीहरुसँगको सहकार्य सुनिश्चित गर्ने प्रयासको सिलसिलामा मैले छिमेकी मित्रराष्ट्रहरुको भ्रमण गरेको छु। छिमेकीहरुसँगको सम्वन्ध सुदृढ गर्दै पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउने सरकारको घोषित नीति बारे सबैलाई जानकारी नै छ ।

परापूर्व कालदेखि हार्दिकता, सद्‍भाव र मित्रतामा आधारित नेपाल-चीन सम्वन्धलाई अझ सुदृढ गर्दै नयाँ गति र उचाई प्रदान गर्नु एवं मुलुकको आर्थिक विकास र समुन्नतिका लागि नेपाल-चीन आर्थिक सहयोगको दीर्घकालीन खाका तयार गर्नु मेरो चीन भ्रमणको प्रमुख उद्देश्य रहेको थियो।

चीनमा रहदाँ मैले महामहिम राष्ट्रपति सि जिनपिङ्गसँग भेटवार्ता गरे।मेरा समकक्षी महामहिम प्रधानमन्त्री ली खच्याङ्गसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो।चिनियाँ संसदको माथिल्लो सदन (CPPCC) का अध्यक्ष महामहिम यु झेनसेङ्गसँग समेत भेटघाट भयो।यसैगरी सियान र छेन्दुमा रहदाँ त्यहाँका प्रान्तीय तथा नगरका नेताहरुसँग पनि भेटघाट भएको थियो।

चीनले नेपालको संविधानलाई राजनैतिक विकासक्रमको ऐतिहासिक उपलव्धिको रुपमा स्वागत गरेको छ।यसको जगमा नेपालले राजनैतिक स्थायित्व र आर्थिक विकास हासिल गर्ने आशा व्यक्त गरेको छ।

भ्रमणको अवसरमा चीनियाँ उच्च नेतृत्वसँग भएको सारभूत र व्यापक छलफल पछि विभिन्न सम्झौता/समझदारी पत्रमा हस्ताक्षर भएको छ भने नेपाल चीन सम्वन्धलाई आगामी दिनका लागि दिशानिर्देश गर्न संयुक्त विज्ञप्ति समेत जारी भएको छ।

दुबै पक्षबीच हस्ताक्षर भै आदान प्रदान गरिएका सम्झौता तथा समझदारीपत्रहरुबाट नेपाल-चीनबीच विद्यमान आर्थिक सहयोगको दायरालाई फराकिलो बनाउन मद्दत पुग्नेछ । भ्रमणको अवसरमा सम्पन्न पारवहन यातायात सम्झौताले भूपरिवेष्टित मुलुकका रुपमा नेपालको समुन्द्रसम्म पुग्ने अधिकार र चीनियाँ भूभागबाट निर्वाधरुपमा पारवहन स्वतन्त्रता पाउने कुरालाई प्रत्याभूत गरेको छ। यो सम्झौता यस भ्रमणको एक महत्वपूर्ण उपलव्धि हो।

पारवहन यातायात सम्झौताका अतिरिक्त यस भ्रमणका अवसरमा निम्न लिखित विषयमा सम्झौता/समझदारी सम्पन्न भएको छः

  • हिल्सास्थित सीमा नाका (कर्णाली नदि) मा चीनियाँ सहयोगमा पूल निर्माण सम्वन्धी सम्झौता
  • पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्वन्धि ऋण तथा सहुलियतपूर्ण ऋण लिने सम्वन्धि विभिन्न ३ सम्झौता
  • चीनियाँ सहयोगमा नेपालमा तेल र ग्याँसको अन्वेषणको संम्भाव्यता अध्ययन सम्वन्धी Letters of Exchange
  • नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्ने सम्वन्धि संयुक्त संभाव्यता अध्ययन सम्वन्धी समझदारी पत्र
  • चीनियाँ सहयोगमा ३२,००० थान सोलार उपलव्ध गराउने सम्वन्धी समझदारीपत्र,
  • ट्रेडमार्क दर्ता संरक्षण गर्ने विषयक समझदारीपत्र,
  • वित्तीय तथा बैङ्किङ्ग क्षेत्रमा सहयोग आदान-प्रदान गर्ने समझदारी पत्र

नेपालको पूर्वाधार विकासमा चीनियाँ सहयोग जुटाउने विषयमा महत्वपूर्ण कुराकानी भएको छ। दुबै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न, स्थल यातायातका पूर्वाधार सुदृढ गर्न एवं Connectivity लाई थप सुदृढ बनाउन सहमत भएका छन्। यसक्रममा अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग र स्याप्रुवेसी-रसुवागढी राजमार्ग सञ्चालनमा ल्याउन र मर्मत सम्भार गर्न, कामाण्डौ चक्रपथको विस्तार कार्य अधि बढाउन दुबै पक्ष सहमत भएका छन्‍।

किमाथान्का-खाँदवारी-धनकुटा सडक, ४३४ मेघावाट अरुण-किमाथान्का जलविद्युत परियोजन विकास, सीमावारपार ४०० केभि ट्रन्समिसन लाईन निर्माण, काठमाण्डौ चक्रपथमा १३२ केभी मोनोपोल ट्रन्समिसन लाईन निर्माण गर्न सहुलियतपूर्ण आर्थिक सहयोग प्रदान गर्न चीनियाँ पक्ष सहमत भएको छ। साथै, निजामती अस्पतालको विस्तार तथा मदन भण्डारी विज्ञान तथा प्रविधि संस्थान स्थापना गर्न चीनिया सहयोग प्राप्त गर्ने विषयमा कुराकानी अगाडि बढेको छ।

चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने सम्वन्धमा व्यापारिक सम्झौता सम्पन्न गर्न दुबै सरकार सहमत भएका छन्। यसका लागि दुबै देशका व्यावसायीक संस्थाहरुले वार्ताद्वारा मूल्य, ढुवानी, सुरक्षा, कर, भन्सार तथा सीमानाकामा रहेका नीतिगत तथा व्यवहारीक अड्‍चनहरु फुकाउन छलफल गर्ने र सम्वन्धित निकायहरुले त्यसका लागि सहयोग पुग्ने खालका नीतिगत सहायता दिने विषयमा सहमति भएको छ ।

चीनले नेपालमा पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिने भएको छ।

तेल तथा ग्याँसको अन्वेषणको संभाव्यता अध्ययन गर्नका लागि चीनियाँ विज्ञ टोली नेपाल आउने सहमति भएको छ ।

नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात संभाव्यता भएका ५०० भन्दा बढि नेपाली वस्तुहरुलाई सहज वजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई गभिरताका साथ बिचार गर्न चीन सहमत भएको छ।

उर्जा व्यापारका लागि दुवै मुलुकका सम्वन्धित निकायहरुबीच सम्वाद संयन्त्र  (Dialogue Mechanism) स्थापना गर्ने सहमति भएको छ ।

नेपाल र चीनबीचको व्यापार तथा लगानी विस्तारको लागि नेपालमा चीनियाँ बैंकका शाखाहरु खोल्ने तथा ग्वान्जाउमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने सहमति भएको छ ।

नेपालको पर्यटन व्यावसायलाई थप उर्जा प्रदान गर्न तथा चीनियाँ पर्यटकबाट नेपालले फाईदा लिनसक्ने वातावरण निर्माण गर्नका लागि आगामी ५ वर्ष भित्रमा २०० पर्यटक व्यवसायीहरुलाई चीनियाँ भाषा तालिम लगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको छ ।

यसैगरी नेपालको मानव श्रोत विकासका लागि यस वर्ष ४०० भन्दा बढी तालिम अवसरहरु तथा हाल उपलव्ध गराउदै आएको सरकारी छात्रवृत्ति संख्यालाई बढाउन समेत चीनियाँ पक्ष सहमत भएको छ ।

उच्चस्तरीय भ्रमणको आदान प्रदानबाट दुबै देशबीच विद्यमान सम्वन्धलाई विस्तार एवं थप मजवुत बनाउन दुबै देश सहमत भएका छन् । यसै सन्दर्भमा मैले सम्माननीय राष्ट्रपतिका तर्फबाट महामहिम चीनियाँ राष्ट्रपति र मेरा तर्फबाट महामहिम चीनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको छु। चीनको उच्च राजनैतिक नेतृत्वबाट सन्‌ २०१६ मा नेपालको भ्रमण हुने अपेक्षा राखेको छु।

भ्रमणका अवसरमा मैले वेइजिङ्ग, सियान र छेन्दूमा नेपाल र चीनका व्यापारिक प्रतिनिधिहरुले आयोजना गरेको Nepal Investment Forum लाई सम्वोधन गरी नेपालका उत्पादनशील क्षेत्रमा लगानी गर्न आव्हान गरेको छु ।संविधान जारी भै राजनैतिक स्थायित्व तर्फ मुलुक अग्रसर भएको अवस्थामा नेपालमा लगानीको उपयुक्त वातावरण बनेको र सरकार लगानी  सुरक्षाका लागि प्रतिवद्ध रहेको सन्देश सञ्चार गर्न उक्त कार्यक्रमहरु फलदायी भएका छन्‍ ।

यसैगरी बेईजिङ्गको Renmin University, सियानको Xi’an Medical University र छेन्दूको Sichuan University मा आयोजित वेग्लावेग्लै कार्यक्रमहरुमा प्राज्ञिक वर्ग र विद्यार्थीहरुलाई सम्वोधन गरे।नेपाल-चीन सम्वन्धका विविध विषयहरु र खासगरी शैक्षिक र साँस्कृतिक क्षेत्रका सम्वन्धहरु वारे आफ्ना धारणाहरु राख्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त भयो। यसबाट जनस्तरमा सम्वन्ध विस्तार गर्न एवं चीनियाँ जनताका माझ नेपालप्रतिको सद्‍भाव र सहयोगको भावनालाई अझ सवल बनाउन मद्दत पुगेको छ ।

छेन्दूमा रहदाँ सन् २००८ को भूकम्पबाट क्षतिग्रस्त Wenchuan County मा भएको सफल पुनर्निर्माण कार्यको अवलोकन गरियो।हाम्रो पुनर्निर्माण तथा आगामी दिनको विकास कार्यका लागि उक्त अवलोकनबाट महत्वपूर्ण अनुभव हासिल गर्ने अवसर प्राप्त भयो।

क्षेत्रीय संयन्त्रहरुसँगको कार्यक्रमः

बेइजिङ्ग वसाईको अवसरमा Shanghai Cooperation Organization मा नेपाल डायलग पार्टनर बन्ने सम्वन्धी समझदारीपत्रमा मेरो उपस्थितिमा हस्ताक्षर भयो। यसबाट संगठनका सदस्य राष्ट्रहरुसँग आपसी चासो र हितका विषयहरुमा सम्वन्ध विस्तार गर्ने अवसर हामीलाई प्राप्त हुनेछ ।

यसैगरी बेइजिङ्ग रहँदा एसियन पूर्वाधार लगानी बैंकका अध्यक्षले मसँग भेटघाट गर्नु भयो। बैंकको संस्थापक सदस्यको नाताले नेपालले प्राप्त गर्न सक्ने सहयोगको सम्वन्धमा विचारको आदान-प्रदान भयो।

चीन भ्रमणका अवसरमा हाइनान प्रान्तको बोआओ शहरमा आयोजित Boao Forum for Asia: Annual Conference 2016 मा सहभागी भए । उक्त फोरमलाई समकक्षी चीनियाँ प्रधानमन्त्री तथा विभिन्न मुलुकका सरकार प्रमुख तथा नेताहरुको उपस्थितिमा  Asia’s New Future: New Vision, New Dynamics विषयमा संवोधन गर्ने अवसर प्राप्त भयो। मैले आफ्नो संवोधनमा अबको विकास प्रक्रिया जनमुखी, जिम्मेवारीपूर्ण र दीगो हुनुपर्ने, अन्तरदेशीय सहयोगको ढाँचा समन्यायीक ढंगबाट सबैलाई लाभ दिन सक्ने खालको हुनुपर्ने, कुनै पनि मुलुक विकासको प्रक्रियाबाट विमुख हुने अवस्था आउन नहुने एवं गरिबी निवारण नगरी शान्ति प्राप्त नहुने जस्ता विचारहरु राखेँ।

भ्रमणको समग्र विश्लेषण:

चीन भ्रमणका अवसरमा भएका उच्चस्तरीय भेटघाट र छलफलबाट दुई देशबीच आपसी विश्वास एवं समझदारीमा अभिवृद्धि हुन गई राजनीतिक सम्वन्ध थप सुदृढ हुन गएको; पारवहन, यातायात, भौतिक पूर्वाधार, लगानी, उर्जा, पर्यटन जस्ता विषयहरुमा भएका छलफल र सम्पन्न सम्झौता समझदारीबाट दीर्धकालीन दृष्टिकोणबाट आर्थिक सहयोगको खाका तयार भएको तथा सहयोगको दायरा फराकिलो भएको तथा प्राज्ञिक र व्यापारिक समुदायसँगको अन्तरक्रिया र छलफलबाट जनस्तरको सम्वन्धको आधारशीला थप मजवुत भएको छ।

सबै मित्रराष्ट्रहरुसँग समानता र पारस्परिक हितका आधारमा विद्यमान सम्वन्धलाई थप सुदृढ र विस्तार गर्दै लैजाने एवं छिमेकीहरुसँगको सम्वन्धलाई एक अर्कासँग तुलना नगर्ने हाम्रो नीति स्पष्ट छ ।

नेपालको विकास हामी आफैले गर्ने हो। अबको प्रमुख काम पुनर्निर्माण र समग्र विकासका लागि हाम्रा मित्रराष्ट्रहरुसँग सहमतिमा पुगेका विषयहरुको प्रभाकारी कार्यान्वयन नै हो।त्यसतर्फ हामीले चाल्ने कदमबाट नै मुलुकको दीर्घकालीन समुन्नति तथा नेपाली जनताको सर्वतोमुखी प्रगति सुनिश्चित हुन्छ भन्ने मेरो विश्वास छ ।

अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा चीन सरकारबाट प्रदान गरिएको स्वागत, सत्कार, आतिथ्यता तथा सदाशयताका लागि म, मेरो प्रतिनिधिमण्डल तथा व्यक्तिगततर्फबाट  चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री, चीन सरकारका सम्वद्ध सबै निकायहरु, हाइनान, सान्सी र सिचुवान प्रान्तका नेता एवं पदाधिकारीहरु र सम्पूर्ण चीनियाँ जनताहरुप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछु।

धन्यवाद ।

Click here for PDF file