सम्माननीय राष्ट्रपतिज्यू र अफगानिस्तानका महामहिम राष्ट्रपति घानीबीच टेलिफोन वार्ता

२०७३ असार ७ गते मंगलबार

 आज मिति २०७३ साल असार ७ गते मंगलबारका दिन साँझ ६:५० बजे सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू र मित्रराष्ट्र अफगानिस्तानका महामहिम राष्ट्रपति मोहम्मद असरफ घानी अहमदजाइ (Mohammad Ashraf GhaniAhmadzai) बीच टेलिफोन वार्ता भयो । उक्त टेलिफोन वार्तामा हालै अफगानिस्तानमा भएको आत्मघाती आतंककारी हमलामा धेरै निरपराध नेपालीहरुले ज्यान गुमाएको दुःखद् विषयमा महामहिम राष्ट्रपति घानीले नेपालका सम्माननीय राष्ट्रपतिज्यूसमक्ष दुःख व्यक्त गर्नुहुँदै सहानुभूति तथा समवेदना प्रकट गर्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यूले महामहिम राष्ट्रपति घानीलाई धन्यवाद दिनुभयो र हमलामा घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । कुराकानीका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले यस दुःखद् घटनाबाट सबै शान्तिप्रेमी नेपालीहरु स्तब्ध र मर्माहत भएको बताउनुहुँदै अफगानिस्तान सरकारले त्यहाँ रहेका नेपालीहरुको उचित सुरक्षाका लागि आवश्यक कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो । सम्माननीयज्यूले नेपालले सबै प्रकार र स्वरुपका आतंकवादको कडा भर्त्सना गर्दै आएको र यस निन्दनीय आतंककारी हमलाको कडा भर्त्सना गर्दै आतंकवाद विरुद्धको विश्वव्यापी लडाइँमा नेपाल र अफगानिस्तानबीच सहकार्य जारी रहने कुरा बताउनु भयो । यसै गरी सम्माननीय राष्ट्रपतिज्यूले भविष्यमा यस प्रकारका दुःखद् घटना नदोहोरिने विषयमा अफगानिस्तान सरकारले आवश्यक कदम चाल्ने विश्वास समेत व्यक्त गर्नुभयो र यस प्रकारको संकटको सामना गर्न नेपाल सरकार अफगानिस्तान सरकारसँग हरदम साथ रहने बताउनुहुँदै वर्तमान संकटबाट पार पाउन र आतंकवादमाथि विजय प्राप्त गर्न अफगानिस्तान सरकारलाई सफलता मिलोस भन्ने कामना गर्नुभयो । उक्त कुराकानीमा सम्माननीयज्यूले हमलामा परी मृत्यु भएकाहरुको शव नेपाल ल्याउन नेपाल सरकारले चार्टर विमान पठाउन लागेको र यस कार्यमा अफगानिस्तान सरकारको तदारुकताका साथ आवश्यक सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । अफगानिस्तानका महामहिम राष्ट्रपतिले हमलामा परेकाहरुको शव नेपाल पठाउन पूर्ण सहयोग गरिने र घाइतेहरुको उपचारका लागि आफ्नो सरकारले प्राथमिकता दिएको कुरा बताउनुभयो । उक्त वार्ताका क्रममा नेपाल र अफगानिस्तान परम्परादेखि निकटतम मित्रका रुपमा रहेका र सार्क सदस्यका रुपमा दुबै मुलुकले क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका विषयमा समान धारणाहरु राख्दै आएको चर्चा भयो र आगामी दिनमा दुबै देशबीचको निकट मित्रतालाई अझ सुदृढ र मजबुत बनाउँदै जानुपर्ने लगायतका विषयमा कुराकानी भयो ।

(ध्रुवराज आचार्य)
सहायक प्रवक्ता