अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमणमा परी मृत्यु भएका नेपालीहरुप्रति दुख व्यक्त गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएको वक्तव्य

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अफगानिस्तानको राजधानी काबुलमा आज बिहान सबेरै आतंकबादीहरूको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा ७ जना नेपालीहरु घाइते भएको घटना बाट म अत्यन्त मर्माहत र दुखित भएको छु l

यस दुखद घडिमा दिवंगत नेपाली दाजुभाईहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो समवेदना प्रकट गर्दछु l साथै, घाइते दाजुभाईहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु l

रोजगारीको सिलसिलामा त्यहाँ गएका निहत्था व्यक्तिमाथि  भएको यो घटना अत्यन्त निन्दनीय र जघन्य अपराध हो l म यस घटनाको घोर भत्सर्ना र निन्दा गर्दछु l साथै, यस घटनाको पछाडि रहेका अपराधिक तत्वहरुलाई शीघ्र न्यायको कठघरामा ल्याइनेछ भन्ने नेपाल सरकारको र मेरो बिस्वास रहेकोछ l आतंकबादका सबै प्रकार र स्वरुप विरुद्ध लड्ने अन्तर्राष्ट्रिय समुदायको प्रयासमा नेपालको दरिलो प्रतिबद्धता रहेको छ l

घटनाको एकिन विवरण लिन तथा मृतकहरुको सव नेपाल फिर्ता पठाउन, घाइतेहरुको स्वास्थ्योपचार सुनिस्चित गर्न, तथा अन्य आवश्यक कार्यहरुको लागि परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावासबाट आवश्यक कार्य सुरु भईसकेको व्यहोरा समेत सबै नेपाली दाजुभाई तथा दिदीबहिनी समक्ष अनुरोध गर्न चाहन्छु l साथै, यस कार्यमा मित्र राष्ट्र अफगानिस्तानको सरकार र अन्य सम्बन्धित क्षेत्रबाट आवश्यक सहयोग हुनेछ भन्ने बिस्वास लिएको छु l

के. पी. शर्मा ओली