Visit Nepal Year-2020 Inaugural Program in State of Kuwait

प्रेस विज्ञप्ती

नेपाली राजदूतावास, कुवेतद्वारा कुवेत सिटीको Crown Plaza Hotel मा हिजो मिति २०७६ पुष २२ गते (तदनुसार ०७ जनवरी, २०२०) का दिन एक विशेष समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० अभियानको औपचारिक रूपमा शुभारम्भ गरियो । दूतावासका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी, कुवेत सरकारका पर्यटन सम्बन्धी विषय हेर्ने सूचना मन्त्रालयका उच्च अधिकारी एवं विशिष्ठ अतिथिका रूपमा आमन्त्रित विभिन्न क्षेत्रका स्थानीय लब्धप्रतिष्ठित व्यक्तित्वहरूद्वारा संयुक्त रूपमा पानसमा बत्ति बाली तथा केक काटी नेपाल भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरिएको थियो । महामहिम राजदूतले कार्यक्रमका विशिष्ठ अतिथिहरूलार्इ पुष्पगुच्छा तथा VNY 2020 को लोगो अंकित खादाले स्वागत गर्नुभएको थियो ।

उद्घाटन पछि संक्षिप्त मन्तब्य राख्दै महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले दूतावासको निमन्त्रणालार्इ स्विकार गर्दै उत्साहप्रद रूपमा सहभागी हुनुभएका विशिष्ठ अतिथि, अतिथिहरू तथा आमन्त्रित सबैलार्इ कार्यक्रममा स्वागत गर्नुभएको थियो । स्वागत मनतव्यको क्रममा उहाँले नेपाल भ्रमण वर्षको उद्देश्य तथा सान्दर्भिकता, नेपालको पर्यटकीय महत्व, अर्थतन्त्रमा यस क्षेत्रको भूमिका, नेपालको पर्यटकीय विशेषता तथा संभाव्यताका विषयमा प्रकाश पार्दै कुवेतमा यो अभियान सफल पार्न कुवेत सरकार, कुवेत स्थित कूटनैतिक समुदाय, स्थानीय पत्रकार, पर्यटन व्यवसायी, बुद्धिजीवी, व्यापारी लगायत सर्वसाधारण सबैबाट सहयोग प्राप्त हुने विश्वास ब्यक्त गर्नुभयो । नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्धलार्इ Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्रलार्इ विकसित तथा विस्तार गर्दै लैजाने साथै दुई देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नुभयो ।

उक्त उद्घाटन कार्यक्रममा नेपालका महत्वपूर्ण पर्यटन गन्तब्य तथा क्रियाकलाप, नेपालको प्राकृतिक एवं ऐतिहासिक सम्पदा तथा सांस्कृतिक एवं सामाजिक वैभवता झल्काउने श्रब्य-दृश्य सामाग्री तयार गरी दर्शकसामू प्रस्तुत गरिएको थियो । उक्त अवसरमा नेपाली राजदूतावास, कुवेत तथा नेपाल पर्यटन बोर्डले तयार पारेका पर्यटन सम्बन्धी सूचनामुलक सामाग्री प्रदर्शनीको लागि राखिएको थियो । उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको नेपाली सांगितिक नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो । नेपाल भ्रमणमा जाने सम्भावित पर्यटकहरूको लागि आवश्यक पर्ने भिसा, हवाई सेवा, बासस्थान, सुरक्षा, खानपान, मनोरञ्न लगायतका व्यवहारीक जानकारीहरू दिने उद्देश्यले दूतावासद्वारा तयार पारिएको ‘Nepal: A Visitor’s Paradise’ को Power point Presentation गरिएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा विगतमा पटक-पटक नेपाल भ्रमण गरी अनुभव हासिल गरिसक्नु भएका विभिन्न सहभागी व्यक्तित्वहरूले नेपालको पर्यटकिय महत्व र सुन्दरताबारे चर्चा गर्नुभएको थियो । मन्तव्यको क्रममा यसअघि उहाँहरूले कुवेतमा आफ्नो नेपाल भ्रमणका सुखद क्षणहरूको स्मरण गर्दै सबैलाई नेपाल भ्रमण गर्न र त्यसको प्रचार प्रसारमा लाग्न अनुरोध गर्नुभयो । कार्यक्रममा कुवेत सिटि र काठमाडौंबीच प्रत्यक्ष हवाई सम्पर्क रहेको जजिरा एयरवेजले एक जना सहभागीको लागि गोलाप्रथाबाट दुई तर्फि हवाई टिकट उपहार स्वरूप प्रदान गरेको थियो ।

कार्यक्रममा कुवेतका लब्धप्रतिष्ठित व्यक्तित्वहरू, उच्च पदस्थ अधिकारीहरू, कूटनैतिक नियोगका प्रमुखहरू एवं प्रतिनिधिहरू, कुवेतका स्थानीय उध्योगपति, व्यापारिक समुदायका सदस्यहरू, पत्रकार, बुद्धिजीवी, पर्यटन व्यवसायी लगायत गैर आवासीय नेपाली संघ एवं नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

नेपाली राजदूतावास, कुवेत
मितिः २०७६ पुष २३